नेकपा एमालेमा भएको विभाजनको असर स्थानीय तहमा राम्रो पर्ने अनुमान गरिएपनि पार्टी परित्याग गरेर नयाँ दल रोज्नेको संख्या हेर्दा एमालेमा कम प्रभाव परेको पाइएको छ । एमालेका १९ प्रतिशत सांसदको साथ लिएर नयाँ दल दर्ता गरेका माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी संघ र प्रदेशमा ठूलो देखिए पनि स्थानीय तहमा भने कमजोर रहेको छ ।
संघीय संसद्का १९ प्रतिशत सांसदको साथ पाएको एकीकृत समाजवादीलाई प्रदेश सभामा २३ प्रतिशत सांसदले साथ दिएका छन् । सङ्घीय संसद्मा नेकपा एमालेका १५४ सांसद मध्ये २९ जना एकीकृत समाजवादीमा गएका छन् । अझै केही सांसदले एकीकृत समाजवादीमा जान सर्वोच्च अदालतमा दिएको निवेदन विचाराधीन नै रहेको छ।
एमालेका २३३ प्रदेशसभा सदस्य मध्ये २३ प्रतिशत सांसदले एकीकृत समाजवादी रोजेको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ । एमालेका ५४ प्रदेशसभा सदस्यले समाजवादी रोजेकाले एमालेमा १७९ प्रदेशसभा सदस्य बाँकी रहेका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको दल परिवर्तन गर्नेको सुचीमा एमाले छाड्ने जनप्रतिनिधिको संख्या १० प्रतिशत मात्रै रहेको पाइएपछि एमाले विभाजनको असर स्थानीय तहमा कम रहेको देखिएको हो । स्थानीय तहमा एमालेबाट निर्वाचित जनप्रतिनिधि मध्ये १,५०१ जनाले एकीकृत समाजवादी रोजेका छन् । नयाँ दल रोज्नेमा वडा सदस्यको संख्या बढी रहेकाले कति पालिका र जिससका प्रमुख, उपप्रमुख वा अन्य पदाधिकारी छन् भन्ने चाहिँ खुल्न अझै सकेको छैन ।
२०७४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा एमालेबाट १४,७०० जना निर्वाचित भएका थिए । कुल खसेको मतको ४२ प्रतिशत मत पाएको एमालेबाट २९४ स्थानीय निकायमा प्रमुख विजय भएका थिए ।
नेपाली कांग्रेस दोस्रो भएको थियो । कांग्रेसले करिब ३२ प्रतिशत मत पाएको थियो भने २६६ स्थानीय तहमा प्रमुख पदमा कांग्रेस उमेद्धार विजयी भएका थिए ।
विभाजनपछि पनि केही प्रदेशमा पहिलो दलको हैसियत कायम राख्न सफल एमाले सुदूरपश्चिम प्रदेशमा भने चौथो दल बनेको छ। एकीकृत समाजवादी १४ सांसदसहित सुदूरपश्चिममा सबैभन्दा ठूलो दल बनेको छ।
१३ सांसदसहित नेकपा माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको कांग्रेस तेस्रो र सभामुखसहित ११ सांसद कायम रहँदा एमाले चौथो स्थानमा पुगेको छ।
प्रदेश २ मा १३ सांसदले समाजवादी रोजेपछि एमालेमा ८ प्रदेशसभा सदस्य मात्रै बाँकी रहेका छन् । गण्डकी प्रदेशमा एमालेका प्रदेशसभा सदस्य नयाँ पार्टीमा नगएपछि एकीकृत समाजवादीको उपस्थिति शून्य भएको छ। लुम्बिनी प्रदेशमा पनि एक जना मात्रै सांसदले समाजवादी दल रोजे पछि समाजवादी सबैभन्दा सानो दल बनेको छ ।