काठमाडौँ / तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध सर्वोच्च अदालतले जाहेरी दर्ता गर्न आदेश दिएको छ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाही इन्चार्ज कुमार पौडेलको इन्काउन्टर घटनामा अदालतले जाहेरी दर्ता गर्न आदेश दिएको हो। २०७६ साल असार ५ गते तत्कालीन प्रहरी प्रमुख खनालकै निर्देशनमा प्रहरीले चलाएको गोली लागेर पौडेलको मृत्यु भएको थियो। जिल्लाको प्रहरीलाई समेत जानकारी नदिई हेडक्वार्टरबाट खटिएका प्रहरीले गोली हानेका थिए ।
‘इन्काउन्टरमा मारिएका पौडेलकी आमा दुर्गादेवी पौडेल प्रहरी कार्यालय पुगेर जाहेरी दिँदा पनि प्रहरीले दर्ता गर्न मानेको थिएन । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले उक्त आदेश दिएको बताइएको छ। अदालतले राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीबाट उनको हत्या भएको निष्कर्ष निकाली सकेको छ ।
सर्वोच्चको आदेशसँगै यससम्बन्धी मुद्दा नयाँ चरणमा पुगेको छ । मानव अधिकार आयोगले सो घटनामा खनाललाई समेत कारबाहीको सिफारिस गरिसकेको बताइएको छ।