जनकपुरधाम / विपक्षी दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि नैतिकताका आधारमा मुख्यमन्त्री पदमा बसिरहन नमिल्ने भन्दै विपक्षी दलले राउतको राजीनामा माग गरेका हुन् । 

प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानअन्तर्गत खरिद गरिएको साइकलमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले बुधबार मुख्यमन्त्रीको कार्यालयमै छापा मारेको थियो । 

मुख्यमन्त्री माथि गम्भीर आरोपसहित अख्तियारले मुख्यमन्त्री कार्यालयमै आएर छापा मारेपछि नैतिक प्रश्न खडा भएको भन्दै प्रदेशको इज्जत जोगाउनका लागि पनि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको भनाइ छ ।

विपक्षी नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेकोले छानबिन हुनुपर्ने माग गरेका छन् । 

उनले सरकारले भ्रष्टाचार गरेको भनेर पटकपटक भन्दै आएको बताउँदै भने, ‘अख्तियारले साइकल खरिद प्रक्रियामा अनियमितताको ठहर गर्दै छापा मारेको छ, भ्रष्टाचारविरुद्धको यो स्वागतयोग्य कदम हो ।’ यद्यपि उनको दल जसपा नेपालले भने यसबारे केही प्रतिक्रिया दिएको छैन ।