मकवानपुर / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

उनीहरूले तालिमको नाममा भ्रष्टाचार गरको भन्दै शुक्रबार अख्तियारले उनीहरूविरुद्ध काठमाडौँको विशेष अदालतमा मुद्दा दायर गरेको हो 

अख्तियारले गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर, सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेल र फिलिंगो मिडियाका सञ्चालक राजकुमार रिजालविरुद्ध मुद्दा दायर गरेको हो । 

उनीहरूमाथि सार्वजनिक सम्पत्ति हानी–नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ। गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गरेको थियो। त्यस कार्यक्रममा अनियमितता गरेको भन्ने सूचना अख्तियारले पाएको थियो।

सूचना पछि अख्तियारले गरेको अनुसन्धानमा तालिम सञ्चालन गर्दा लागेको खर्चभन्दा दुई लाख ६० हजार ९ सय रुपैयाँ बढी भुक्तानी लिएको खुलेको हो। सो कुरा अख्तियारले पुष्टि गरेपछि आरोपपत्र दायर गरेको हो।