बिर्तामोड / नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा शुरु भएको विधान महाधिवेशनमा नेकपाकै संस्थापक नेतालाई समेत महत्व नदिएको देखिएको छ । एमालेले आदर्श मान्दै आएका पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ , एमालेको मार्ग दर्शक सिद्धान्त कबजका प्रतिपादक मदन भण्डारी र पहिलो प्रधानमन्त्री मनमोहन अधिकारी समेतलाई महत्व नदिएको अधिवेशनमा दृष्य देखिएको छ ।

एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीका तस्विर र स्ट्याचुले राजधानीकै सडक अनि कार्यक्रम स्थल सिँगारिएको छ । तर सोही पार्टीले अहिलेसम्म मान्दै आएको सिद्धान्त अनि पार्टीका संस्थापक नेतालाई भन्दा पनि वर्तमान अध्यक्ष ओलीलाई महत्व दिएको दृष्यले एमालेकै देशभरका कार्यकर्ता समेत असन्तुष्ट बनेका छन् ।

यसअघि एमालेका मुख्य कार्यक्रमहरूमा संस्थापक नेताहरूका तस्विर राखिएको हुन्थ्यो तर पहिलो विधान महाधिवेशनमा नै ओलीलाई स्थापित गर्ने उद्देश्यले सिद्धान्तका प्रतिपादक र संस्थापक नेताहरूको तस्विर प्रयोग नगरिएको अड्कल काटिएको छ । एमाले भित्र शक्तिशाली बनेका ओलीलाई स्थापित गर्न उनी निकटले ओलीको नै वढी प्रचार गर्न खोजेको देखिएको छ ।