बिर्तामोड / नेपालको २४० वर्षे लामो शाहवंशीय राज संस्थाको अन्त्यका लागि भएको माओवादी आन्दोलनका प्रमुख अनि शीर्ष नेता मोहन वैद्यले आफू सहितका कम्युनिष्ट पार्टीका नेता देशको राष्ट्रियता र स्वाधीनताको रक्षाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहसँग सहकार्यका लागि तयार रहेको बताएका छन् ।
संविधान सभाको निर्वाचन पछि गुमनाम रहेका नेपालको कम्युनिष्ट आन्दोलन र दर्शनका गुरु समेत मानिएका वैद्यको मुलुकको राजनीति अस्थिर बनेको समयमा त्यस्तो धारणा सार्वजनिक भएको हो ।
आफ्नै दल पटक –पटक सरकारमा पुगेको समयमा समेत सरकारमा सहभागि नभएर बेग्लै छवि अनि पहिचान बनाउन सफल नेता वैद्यले काठमाण्डौबाट सञ्चालित योहो टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा देशको राष्ट्रियता र स्वाधीनताको रक्षा अनि जनता प्रिय शासन व्यवस्थाका लागि आफू सहितका कम्युनिष्ट नेता पूर्व राजासँग सहकार्यका लागि तयार रहेको बताएका हुन् ।
राजतन्त्र अन्त्यका लागि भएको दश वर्षे लामो जनयुद्धका सूत्रधार समेत रहेका वैद्यको पछिल्लो धारणा सार्वजनिक भएपछि राजनीति वृत्तमा हलचल मच्एिको छ ।
सञ्चारमाध्यममा थोरै देखिने अनि कम बोल्ने स्वभावका नेता वैद्यको भनाई सँगै मुलुकको राजनीतिमा ध्रुविकरण सुरु भएको अनुमान समेत गर्न थालिएको छ । राजनीतिक दलहरूबीच कलह र विभाजन उत्कर्षमा पुगेका बेला आएको नेता वैद्यको भनाइलाई महत्वका साथ हेरिएको छ ।
अन्तरवार्ताका क्रममा उनले राजनीतिक दल र संसदीय व्यवस्था असफल बनेको , मुलुकको राजनीति जनता प्रिय हुन नसकेको अनि देशको राष्ट्रियता र स्वाधिनता माथि खतरा देखिएकाले राष्ट्रवादी शक्तिबीच एकता जरुरी भएको बताएका छन् ।
देशभित्र राजसंस्था पक्षधर पनि एउटा शक्ति भएकाले सच्चा कम्युनिष्ट अनि देशभक्त समुहबीचको सहकार्यमा जनताका लागि फरक व्यवस्थामा मुलुकलाई लान निर्णायक सङ्घर्षका लागि उनले अपिल समेत गरेका छन् ।
पूर्व राजालाई विगतको जस्तै भूमिका दिन नसकिने स्पष्ट पार्दै उनले भने – अहिले राजा छैन, एउटा शक्ति चाँहि छ । तर त्यो शक्ति नयाँ किसिमले आएमा विगतको तिक्तता बिर्सेर सहकार्य गर्न हामी तयार छौ ।
उनले कम्बोडियामा पनि राजतन्त्रको अन्त्य पछि त्यहाँका राजा नरोत्तम सिंहानुकले देशभक्त कम्युनिस्टहरूसँग मिलेर जनता प्रिय शासन व्यवस्था ल्याइएको प्रशंग कोट्याउँदै भने – नयाँ परिस्थिति अनुसार जानुपर्यो । देशको रक्षा संसदवादीबाट सम्भव छैन । साँच्चिकै देशको रक्षा गर्ने हो भने देशभक्त र कम्युनिष्टहरू एक भएर जाने हो भने राजको भूमिकालाई फरक रुपमा सोच्न सकिन्छ ।
अन्तरवार्ताका क्रममा नेता वैद्यले ज्ञानेन्द्र मात्रै सामन्तवाद नभएको समेत राजसंस्था अन्त्य पछिको समयले सावित गरेको समेत बताएका छन् । सामन्तवादको संरक्षक भनिएका राजा भन्दा अहिलेका दल बेसी सामान्तवादी रहेको घटनाक्रमले प्रमाणित गरेको समेत उनले जिकीर गरेका छन् ।
राजसंस्था अन्त्यका लागि भएको माओवादी आन्दोलनका अर्का शीर्ष नेता अनि कमाण्डर समेत रहेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टी समेत वर्तमान व्यवस्था अन्त्यका लागि जनमत संग्रहको माग सहित संघर्षमा नै रहेका वेला आएको वैद्यको भनाइलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
वैद्यले राजतन्त्र अन्त्यका लागि भएको १२ बुँदे सम्झौता समेत नेपाल र नेपाली जनताका लागि भ्रम अनि धोका भएको बताएका छन् । उनले स्वदेशमा नगरेर विदेशमा योजनावद्ध भएको सम्झौताको पक्षमा आफू कहिल्यै नरहेको वताउँदै उनले आफू सहितका नेताको गिरफ्तारी पनि सोही सम्झौता गर्नका लागि भएको संकेत गरेका छन् ।
संविधान सभा पछि तत्कालिन माओवादी सेनाको विघटन प्रति असहमति जनाउँदै प्रचण्ड – बाबुरामलाई छाडेर वेद्य , विप्लव र बादलको समुह विद्रोह गरी फरक पार्टी बनाएर हिडेको थियो । प्रचण्ड र बाबुरामले जनतालाई धोका दिएको अनि गद्धारी गरेको आरोप लगाउँदै उनीहरुले आन्दोलनको घोषणा गरेका थिए ।
आन्दोलनको स्वरुप सशस्त्र विद्रोह हुने कि नहुने भन्ने विषयमा मतभेद वढेपछि बादल प्रचण्ड समुहमा नै फर्किएका थिए भने विप्लव समुह फरक पार्टी बनाएर सशस्त्र आन्दोलनमा होमिएको थियो ।
यतिवेला सो समयमा शीर्ष नेताहरु बाबुराम , प्रचण्ड , विप्लव र बादल फरक फरक दलमा रहेका छन् । उनीहरु सबैका शीर्ष नेता मानिएका मोहन वेद्य भने सिपी गजुरेल शहितका शीर्ष नेताको साथमा यतिवेला व्यवस्था परिवर्तनका लागि फरक आन्दोलनको तयारीमा रहेका छन् ।
प्रचण्ड , बाबुराम , बादल र विप्लव सहितका नेताका गुरु समेत मानिएका वैद्यको पछिल्लो धारणा पछि वदनाम बनेका कम्युनिष्ट पार्टीका नेता प्रतिको जनमत र समर्थन वैद्ययका पक्षमा ढल्कने खतरा समेत वढेको छ ।
थोरै बोल्ने नेताका रुपमा चिनिएका वैद्यको पछिल्लो भनाई सँगै उनकै नेतृत्वमा रहेको मोर्चामा सम्मिलत साना दल र वर्तमान सत्ता अनि दलहरु विरुद्ध छरिएर रहेका शक्ति अनि समुहबिच सहकार्य गर्ने समझदारी भएको अनुमान समेत गर्न थालिएको छ ।