विराटनगर / नेपाली कांग्रेसको नेतृत्वमा लामो समयदेखि दबदबा कायम गर्न सफल कोइराला परिवारको गृहजिल्ला मोरङमा पार्टीको संस्थापन पक्ष कमजोर देखिएको छ । जारी अधिवेशनका क्रममा शनिबार सम्पन्न विराटनगर महानगरपालिका सहित अन्य ७ वटा पालिकाको अधिवेशनमा संस्थापन पक्षका उमेद्धार कमजोर देखिएका हुन् ।
शनिबार मतदान भएका १६ स्थानीय तहमध्ये ८ वटाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा पार्टी सभापति शेरबहादुर देउवा पक्ष जिल्लामा कमजोर देखिएको हो ।
विराटनगर महानगरपालिका सहित कानेपोखरी, धनपालथान, कटहरी र मिक्लाजुङ गाउँपालिका , बेलबारी, सुनबर्सी र पथरी शनिश्चरे नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा संस्थापन देउवा पक्ष कमजोर देखिएको छ ।
प्रदेश एकको एक मात्रै महानगरपालिका विराटनगरको सभापतिमा कोइराला –पौडेल पक्षीय उमेद्धार दिपक चापागाँई विजयी भएका छन् । कोइराला – पौडेल समुह भित्र पनि डा. शेखर कोईराला पक्षधरको समर्थन प्राप्त चापागाँई २१२ मत प्राप्त गरी बिजयी भएका हुन् ।
सभापतिका ४ आकांक्षीमध्ये संस्थापन देउवा पक्षका सन्तोष न्यौपानेलाई पराजित गर्दै चापागाईँ बिजयी भएका हुन् । न्यौपानेले १६५ मत प्राप्त गरेका छन् । सभापतिमा नै निर्वाचनमा उमेद्धार बनेका कोइराला – पौडेल समुहका नेताहरू कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरेका छन् ।
उपसभापतिमा इन्दु सुवेदी खतिवडा र निरज कोइराला, सचिवमा झुमा निरौला गौतम र तेजिन्द्र भट्टराई, सह–सचिवमा सचिन पोखरेल र दिवस नेपाल निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस बेलबारी नगर सभापतिमा छत्र लिम्बू विजयी भएका छन् । लिम्बु कोईराला – पौडेल पक्षिय उमेद्धार हुन् । देउवा पक्षिय उमेद्धार शम्भु भट्टराईलाई पराजित गर्दै उनी बिजयी भएका हुन् । लिम्बुले १ सय ३६ मत प्राप्त गरे भने भट्टराईले ९४ मत प्राप्त गरेका छन् ।
कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत बिजयी भएका छन् । उनले ८४ मत प्राप्त गरे पराजित भएका हरिनारायण माझीले ४४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् । उनले ७३ मत प्राप्त गर्दा प्रतिस्पर्धी दीपक चौलागाइँले ७१ मत प्राप्त गरेका छन् ।
धनपालथानमा दीपकवीर पाण्डे सभापतिमा बिजयी भएका छन् । बिजयी पाण्डेले ८३ मत र उनका प्रतिस्पर्धीे बासुदेव रायले ३७ मत ल्याएका छन् ।
सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह १०५ मत प्राप्त गरी बिजयी भएका छन् । प्रतिस्पर्धीे उमेद्धार महेश्वर राजवंशीले ८९ मत ल्याएका छन् ।
पथरीशनिश्चरे नगरपालिकामा सभापतिमा रुपनारायण भट्टराई ८२ मत प्राप्त गरी बिजयी भएका छन् ।
त्यसैगरी मिक्लाजुङ गाउँपालिकामा बबी राई १३४ मत प्राप्त गरी सभापतिमा बिजयी भएका छन् । उनका प्रतिस्पर्धीे अरुणविक्रम बस्नेतले २१ मत प्राप्त गरेका छन् ।
प्राप्त मतपरिणम अनुसार ८ मध्ये ७ वटा पालिकामा कोईराला –पौडेल समुहले सभापति जितेको छ । धनपालथान गाउँपालिकाका सभापतिमा बिजयी दिवबीर पाण्डे मात्रै देउवा पक्षका हुन् ।