बिर्तामोड / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनले ७० वर्ष उमेर पूरा नभएसम्म पार्टीको उम्मेदवार बन्न पाउने व्यवस्था अघि सारेको छ ।
७० वर्ष उमेर हदको सुझावप्रति जवाफ दिँदै उपमहासचिव विष्णुप्रसाद पौडेलले यदि कार्यकाल अवधिमा ७० वर्ष पूरा भयो भने उसले आफ्नो जिम्मेवारीमा रहेर कार्य गर्न पाउने व्यवस्था रहने बताए ।
यसैगरी, एमालेमा एक कार्यकारी व्यक्ति दुई कार्यकालसम्म नेतृत्व गर्ने व्यवस्था रहने भएको छ । शुक्रबारदेखि जारी विधान महाधिवेशनमा विधान संशोधन सम्बन्धी प्रतिवेदनमाथि जवाफ दिँदै एक व्यक्ति दुई कार्यकालको व्यवस्थालाई पार्टीमा थप महत्वका साथ कार्यान्वयन गरिने बताए ।
महाधिवेशनले पार्टीको आधिकारिक लोगो परिमार्जन गरेको छ । एमालेको विगतमा प्रयोग हुँदै आएको लोगो भन्दा परिमार्जित लोगोमा सूर्य चिन्ह भित्र रातो पृष्ठभूमिमा सुनौलो रङ्गको हसियाँ हतौडा अंकित गरिएको छ ।
एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले परिमार्जित लोगो पार्टी विधान महाधिवेशनले पारित गर्ने बताएका छन् ।