बिर्तामोड / नेकपा एमालेका सांसदहरुले संसद्मा कालो धन चाहिँदैन, देश लुट्न पाइँदैन भन्दै नारा लगाएको छ । 

आज (मंगलबार) प्रतिनिधिसभाको वेल घेराउ गर्दै एमालेका सांसदहरुले ३ वर्ष भन्दा अघिको सम्पत्तिमा आयकर र मूल्य अभिवृद्धि कर मिनाहा गर्ने गरी बजेटमा गरिएको व्यवस्थाको विरोधमा सो नारा लगाएका हुन् । 

सरकारले बजेटमार्फत चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी, लेखापरीक्षक लेखापढी व्यवसायी, परामर्श अभिकर्ता तथा मध्यस्थकर्ता, सेवा प्रदायकलगायत प्राकृतिक व्यक्तिले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सो भन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरेको छ ।

एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ ।

प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।