बिर्तामोड / सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ । भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणामा कांग्रेसको टोली भारत जाने भएको हो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा नेता उदय शमशेर राणा र अजय चौरसिया बिहीबार भारत जाने भएका हुन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित देखिन्छन् । यसै सिलसिलामा कांग्रेस टोली भारत जान लागेको हो । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमण मितिसमेत तय हुने बताइएको छ ।
पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गरिरहेको छ ।