जनकपुरधाम / प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभाको बैठक बोलाएका छन् । उनले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाएका हुन् ।
बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिने कार्यक्रम रहेको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री राउतले विश्वासको मत पाउने निश्चित छ । सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् ।
प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि १०४ जना सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् ।
तर, लोकतान्त्रिक समाजवादी पाटीले भने मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।