बिर्तामोड  / नेकपा एमालेकी नेता सविता भण्डारी भेटवाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकी छिन् ।

सविताले एमालेले कम्युनिष्टको वैचारिक धार छोडेकाले आफू एकीकृत समाजवादीमा प्रवेश गरेको बताएकी छिन् । 

झापाको धुलाबारी घर भएकी सविता १७ वर्षको उमेरमा २०४८ सालमा नै एमालेको पार्टी सदस्यता लिएर राजनीतिमा होमिएकी थिइन् । 

एमाले भित्र पनि अध्यक्ष केपी शर्मा ओली पक्षमा खुलेकी भण्डारीले पछिल्लो समय पार्टी भित्रका विकृति विसंगतिविरुद्ध शसक्त आवाज उठाउँदै आएकी थिइन् । 

उनले भनिन्, – ‘एमाले व्यक्तिवादमा रमाउन थालेकाले त्यसबाट आम नागरिकको पक्षमा वकालत गर्न असम्भव देखेर नयाँ राजनीतिक अभियानमा लागेकी हुँ ।’

एमाले भित्र स्पष्ट विचार राख्न सक्ने महिला नेताका रुपमा परिचित भण्डारीले २०७० र २०७४ को आम निर्वाचन तथा स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई बिजयी गराउन सक्रिय भूमिका खेलेकी थिइन् ।