नेकपा एमालेको संरक्षणमा कानुनी कारवाहीबाट जोगिदै आएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ प्रकाउ परेसँगै एमाले नेता एवं पुर्व महान्यायाधिवक्ता अग्नि खरेल पनि विवादमा तानिएका छन् ।

सर्वसाधारणको अर्बौँ रुपैयाँ अपचलन गरेका तामाङलाई जोगाउन कानुनी सल्लाहकारका नाममा नेता खरेलले सरकारी पदमा बहाल रहेको समयमा समेत सिभिल ग्रुपबाट मासिक ५ लाख रुपैयाँ लिने गरेको सार्वजनिक भएपछि उनी अर्बौँ ठगीको विषयमा मुछिएका हुन् ।

एमाले नेतृत्वको सरकारले सर्वसाधारणको करिव ८ अर्ब रुपैयाँ अपचलन गरेका तामाङलाई संरक्षण गरेर राखेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि बनेको सरकारले तामाङलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि नेता खरेलले सिभिल ग्रुपबाट वार्षिक ६० लाख रुपैयाँ लिने गरेको सार्वजनिक भएको हो ।

सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधिवक्ता रहेको समयमा समेत नेता खरेलले सिभिल ग्रुपबाट पाँच वर्षमा करिव तिन करोड रुपैयाँ पारिश्रमिक भन्दै लिएको खुलेपछि अर्बौँ ठगीको विषयमा एमालेको शीर्ष नेतृत्वको संलग्नता खुलेको हो । नेता खरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् ।  अर्बौँ ठगीमा संलग्न तामाङलाई कारवाही गरी बचत फिर्ता दिलाउन पीडितले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयदेखि नै सरकारी निकाय गुहार्न थालेका थिए ।

आम नागरिकका लागि राजनीति गरेको अनि बेथिति र भ्रष्टाचारको विरोधमा आफ्नो पार्टी रहेको बताउने गरेको एमालेले तिन हजार भन्दा वढी सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगीमा संलग्नलाई भने जोगाउँदै आएका थिए । पीडितले सरोकारवाला सरकारी निकायमा समेत निवेदन दिएर कारवाहीको माग गरेका थिए । तर ओली नेतृत्वको सरकारले अर्बौँ ठगीमा संलग्न तामाङलाई कारवाही गर्नुको साटो संरक्षण गर्दै आएको थियो ।