बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवाले गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका छन् । देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हमाललाई आपूर्तिमन्त्री बनाएका हुन् । 

यसअघि प्रधानन्यायाधीश जबराको कोटामा विचौलियाका रुपमा रहेका दीपक तिमिल्सिनालाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर, उनको नाममा विवाद भएपछि देउवाले कांग्रेस पृष्ठभूमिका हमाललाई प्रधानन्यायाधीश जबराको कोटामा मन्त्री बनाएका हुन् ।

प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको आशङ्कालाई हमालको नियुक्तिले सही सावित गरिदिएको छ । गैरसांसद हमाल प्रधानन्यायाधीशका जेठान नाता पर्छन् । उनी नेपाली काँग्रेस बाँकेका नेता हुन् । 

हमाल अहिले पार्टीको क्रियाशील सदस्य मात्र हुन् किनकि कांग्रेसको अघिल्लो महाधिवेशनमा उनी महाधिवेशन प्रतिनिधिमा नै पराजित भएका थिए ।