नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र ओली समुहका नेताबाट भएका भ्रष्टाचार अनि बेथितिका विषयको चाङ नै लागेको छ ।
आफू सरकारमा रहँदा भ्रष्टाचार अनि बेथितिको विरोध गर्ने ओली अनि एमालेको सरकारका पालामा भएका बेथिति र भ्रष्टाचार सत्ताच्युत भएपछि रोकिएको छैन ।
ओलीका सहयात्री भनेर चिनिएका झापाकै एक नगरपालिकामा मेयरमा पराजित एमालेका नेता समेत रहेका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाईँ यतिबेला विवादमा तानिएका छन् ।
ओलीको आर्शिवादमा संविधानको रक्षकका रुपमा मानिएको प्रदेश प्रमुख बन्न सफल भएका प्रसाईँको परिवारका सदस्यले कानुन मिचेर लाभका पद हत्याउन नछाडेको पाइएको छ ।
ओली नै प्रधानमन्त्री रहेको समयमा प्रसाईँले आफ्ना छोरा राजेश प्रसाईँलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टार बनाएका थिए ।
ओलीको आडमा सरकारी पदमा पुगेका प्रसाईँले आफ्ना छोरालाई रजिष्टार बनाएपछि यतिबेला उनका छोराले पनि कानुनको धज्जी उडाउँदै आफ्नी पत्नीलाई प्रतिष्ठानमा नियुक्त गरेको सार्वजनिक भएको हो ।
बाबुको सिको गर्दै छोराले पनि एमालेको आडभरोसामा आफ्नी श्रीमती कमला प्रसाईँ निरौलालाई प्रतिष्ठानको कार्यालय सहायक पदमा नियुक्त गरेका छन् ।