बिर्तामाेड / प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य नेताहरूलाई मन्त्री बनाउन नसकेकोमा आफू दुःखी रहको बताएका छन् । 

शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।  

उनले भने, – ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरूलाई मन्त्री बनाउन सकिएन । यसमा म दुःखी छु ।’

देउवाले भोलिका दिनमा मन्त्री बनाउन सकिएका नेताहरूलाई उचित जिम्मेवारी दिने बताएका छन् । उनले बीपी कोइराला शताब्दी सन्देश नाम पुस्तक प्रकाशन गरिएकोमा स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष तथा काँग्रेस युवा नेता नैनसिंह महरलाई धन्यवाद दिए । 

कार्यक्रममा काँग्रेस नेता मीन विश्वकर्मा, तारादेवी भट्ट र नैनसिंह महरले किताब र बिपी कोइरालाबारे प्रकाश पारेका थिए । यस्तै  कार्यक्रममा संविधानविद् तथा बीपीबारे अध्येता बिपीन अधिकारीले आफ्नो धारणा राखेका थिए ।

आफू प्रधानमन्त्री बनेको ८८ दिनपछि शुक्रबार प्रधानमन्त्री देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थपेर सरकारलाई पूर्णता दिएका थिए ।