बिर्तामोड / भारत भ्रमणमा रहेका नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको हो ।
सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिए ।
दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेशमन्त्रीले सकारात्मकरुपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने महतले बताए ।
त्यस्तै महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेशमन्त्री जयशंकरसँग कुरा राखेको उनले बताए । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उनले जानकारी दिए ।
उक्त द्विपक्षीय भेटमा नेपालका तर्फबाट डा. महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेशमन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर थिए ।
भारतीय जनता पार्टीको आमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महत नेतृत्वको टोली बिहीबार भारत पुगेको हो ।