बिर्तामोड / सत्तारुढ तीन दलका विद्यार्थी सङ्गठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको दोषी तत्कालीन ओली सरकार रहेको बताएका छन् । 

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरी घटनाको दोषी तत्कालीन सरकार भएको बताएका हुन् ।  

उनीहरूले घटनाको छानविन गरी दोषीलाई कारबाहीको माग गरेका छन् भने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् । 

तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरुपयोग गरी औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै त्यहाँ बसोबास गरिरहेका जनतालाई लखेटेको कारण घटना भएको संगठनको आरोप छ।

आइतबार रूपन्देही मोतिपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको थियो।

झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए। झडपमा सुरक्षाकर्मीसहित कयौं घाइतेसमेत भएका थिए।