बिर्तामोड / नारायणहिटी राजदरबार छाडेपछि राजनीतिक विषयमा सांकेतिक रुपमा मात्रै आफ्नो विचार प्रकट गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक मुलुकको राजनीतिका विषयमा आफ्नो मौनता तोडेका छन् ।
विजयादशमीको अवसरमा जारी शुभकामना सन्देश मार्फत उनले मुलुकको चिन्ता प्रकट गर्दै राजनीतिक उद्देश्य सहितको आफ्नो धारणा प्रकट गरेका हुन् । जारी सन्देश मार्फत उनले नेपालमा राजसंस्थाबिनाको प्रजातन्त्र टिक्न नसक्ने दावी समेत गरेका छन् ।
राजसंस्था समाप्तिको स्मरण गर्दै उनले मुलुकको त्यो बेलाको परिस्थितिले आफूलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य बनाएको भन्दै नेपालमा प्रजातन्त्रविना राजसंस्था र राजसंस्थाबिना प्रजातन्त्र टिक्ने अवस्था नरहेको समेत बताएका छन् ।
राजसंस्थाका विषयमा आफ्नो धारणा राख्दै उनले जुनसुकै विचारमा आबद्ध भए पनि राजसंस्थाका विषयमा सबै पक्ष एक ठाउँमा आउनेमा विश्वास समेत प्रकट गरेका छन् । मुलुकमा बढेको भ्रष्टाचार , बेथिती अनि सत्तामा रहेकाले आफ्नो वरीपरीकाको हित बाहेक केही पनि गर्न नसकेको समेत उनले बताएका छन् ।
राज्यका निकायहरू अस्तव्यस्त बनेको अनि राष्ट्रियता , सार्वभौमिकता र राष्ट्रिय एकता समेत सङ्कटमा परेको उनले जारी सन्देश मार्फत जिकिर गरेका छन् । राजनीतिक व्यवस्था आफू, आफ्नो समुह र त्यस भित्रको गुटगत स्वार्थमा रुमल्लिएको भन्दै पूर्वराजाले मुलुकको राजनीति सनातनी आदर्श अनुरुप चल्न नसकेको समेत धारणा व्यक्त गरेका छन् ।
राजसंस्थाको अन्त्यपछि दलका क्रियाकलाप र गतिविधिकै कारण राजसंस्थाका पक्षमा जनताले वकालत गर्न थालेको तर्फ संकेत गर्दै उनले राजसंस्थाको पक्षमा खुल्नका लागि योग्य समय आएको बताएका छन् । उनको सन्देश मार्फत आएको यो धारणाले राजसंस्था अनि हिन्दु राष्ट्रका पक्षपातीलाई आन्दोलनमा लाग्न सांकेतिक रुपमा आग्रह गरेको छ ।
राजसंस्था उन्मूलनका लागि निर्णायक भूमिका खेलेका शीर्ष नेताहरू मोहन वैद्य, नारायणमान विध्युक्षे र नेत्रविक्रम चन्द लगायतले नै व्यवस्था नै परिवर्तनका लागि पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न सकिने बताएका वेला आएको शाहको धारणाले उनीहरु बिच एकताको सम्भावना समेत बढाएको छ ।
पूर्वराजाद्धारा जारी सन्देशमा भनिएको छ , ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन,’ पूर्वराजा शाहद्वारा जारी सन्देशमा भनिएको छ, ‘तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरूप हून सकेनन् । लोककल्याणकाे हेतु राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनुपर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समुह र त्यसभित्रको गुट–उपगुटमा अल्झिएको छ ।’
पूर्वराजा शाहले पछिल्लो समय कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महङ्गी र अस्थिरताको भुमरीमा फसेका आम नेपालीले सत्य, सेवा तथा लोकहितको अनुभूति गर्न नपाएको भन्दै वर्तमान व्यवस्था अनि राजनीतिक दलमाथि प्रश्न गर्दै असन्तुष्टि समेत प्रकट गरेका छन् ।
‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तरसम्बन्धित हुने गर्दछ । त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभुति गर्न सक्नुपर्छ,’ सन्देशमा भनिएको छ, ‘दुर्भाग्यवश शिक्षा तथा स्वास्थ्यको व्यापारीकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सीमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ । त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति सङ्कटमा पार्ने, राष्ट्र हितमा केन्द्रित रहनुपर्ने परराष्ट्र नीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चूनौती थपिएकोले हाम्रो मन पोलेको छ ।’
उनले हरेक नेपालीलाई आफ्नो स्वतन्त्र विचार र आस्थाको अधिकार रहेको पनि बताएका छन् । राजसंस्थाले वैचारिक आस्थाका आधारमा विभेद नगर्ने बताउँदै शाहवंशीय राज पदतिको इतिहासले पनि यसलाई स्पष्ट गरेको स्मरण गराएका छन् । ‘राष्ट्रिय आवश्यकता र जनचाहनाको परिधि बाहिरबाट कूनै पनि समस्याको समाधान खोजेको छैन, खोज्दैन पनि,’ राजसंस्थाबारे उनले भनेका छन्, ‘देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दबित भए पनि नामेट हून सक्तैन, योग्य समयमा समूचित तरिकाबाट त्यो प्रस्फुटित हूने गर्दछ ।’
केही समययता जिम्मेवार एवं देशभक्त नागरिकहरुबाट राष्ट्रको चिन्ताले व्याकूल भई व्यक्त विचारहरुलाई आफूहरुले राष्ट्रिय अनुराग र निष्ठा मात्र प्रकट गरेको नभई, आम नेपालीमा राष्ट्रवादी चेतको सञ्चार समेत गराएको रुपमा बुझेको उनले बताएका छन् ।
