बिर्तामोड  / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ।

नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा एकतापछि अधिवेशन नभएका कारण एकैपटक देशका छ हजार सात सय ४३ वडामा नयाँ नेतृत्व चयनका लागि एमालेले अधिवेशन गर्ने भएको हो । 

आगामी मंसिरमा बुटवलमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरु सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कार्तिक ९ गते देशभरका ७५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ । 

वडा अधिवेशनका लागि एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरुको उद्घाटन तथा शुभकामना सन्देश दिने गरी तयारी गरिरहेको बताइएको छ । 

एमालेले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव र सदस्यहरूका लागि पार्टीका तल्ला तहमा अधिवेशन गर्न लागेको छ । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । वडा कमिटीकै अधिवेशनबाट विधान अधिवेशनबाट पारित विधान कार्यान्वयमा आउने भएको छ । 

महाधिवेशनबाट एमालेले पाँच वर्षीय नेतृत्व चयन गर्नेछ । नयाँ विधान अनुसार एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित २२५ केन्द्रीय सदस्यहरुको चयन हुनेछ ।