बिर्तामोड / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किएका मन्त्री आलेले विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताएका हुन् । 

आलेले अनुगमनका क्रममा विमानस्थलमा ट्याक्सीले मिटरमा यात्रु नबोक्ने, सरसफाइ नभएको, पसलले यात्रुलाई चिया, कफीमा समेत महँगो लिने गरेका, कर्मचारीले पनि आफ्नो जिम्मेवारी पूर्णरुपमा पालना नगरेको पाइएकाले ती कमी कमजोरीको अन्त्य गर्ने बताए ।

यसैगरी मन्त्री आलेले आइतबार काठमाडौँबाट भोजपुरका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजले केही यात्रु उडाएको र केही यात्रु छाडेकाले सो विषयमा नेपाल वायुसेवा निगमका निर्देशकलाई लिखित जवाफ माग गरेको बताए ।

उनले भने, “भोजपुर जाने जहाजमा आधा यात्रु लगियो, आधा छोडियो, कसरी त्यस्तो हुन गयो, गल्ती गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छु, यात्रुसँग हाम्रो सम्बन्ध सुमधुर होस् भन्ने मेरो चाहना हो ।” 

आइतबार छुटेका यात्रुलाई पनि मन्त्री आलेकै निर्देशनमा सोमबार  गन्तव्यमा पुर्‍याइएको छ । मन्त्री आलेले नेपाल वायुसेवा निगमलाई हवाई टिकटका लागि ई–टिकेट (अनलाइन) को व्यवस्था गर्न निर्देशन दिएकाले निकट भविष्यमै ई–टिकेट सञ्चालन हुने विश्वास दिलाए ।