काठमाडौँ / सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच दुई बुँदे सहमति भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा दुई बुँदे सहमति भएको हो ।
विप्लवका कार्यकर्ताविरुद्धका मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिको अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए ।
वार्तामा नेपाल सरकारको तर्फबाट गृहमन्त्री खाणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री सहभागी भएका थिए ।
नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।