बिर्तामोड / सरकारले बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई सहयोग स्वरुप दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको परिवारलाई दुई लाख र दुई वा सो भन्दा बढिको मृत्यु भए प्रत्येकका लागि थप एक–एक लाख दिने घोषणा गरेको हो । 

बैठकमा बाढीपहिरोबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

बाढीपहिरोले घरबारविहीन भएकालाई तत्काल गुजाराका लागि पाँच जनासम्मको परिवार छ भने प्रतिपरिवार १५ हजार र पाँचभन्दा बढी सदस्य रहेका परिवार छन् भने प्रतिपरिवार २० हजार नगद सहयोग दिने निर्णय भएको छ ।

यता गृहमन्त्री बालकृष्ण खाँणले बैठकको निर्णयअनुसार पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने जानकारी दिए ।