बिर्तामोड / नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन् ।

ओलीले आज (बिहिबार) दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बोलाएका हुन् । 

बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा र पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र वर्षाका कारण भएको धनजनको क्षतिलगायतका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

एमालेले आगामी कात्तिक ६ गतेदेखि वडा अधिवेशन र ९ गतेदेखि पालिका अधिवेशन गर्ने तालिका बनाएको छ ।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरेको थियो ।

विधान महाधिवेशन समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने घोषणा गरेका थिए ।