जनकपुरधाम / केहि दिनदेखि जारी अविरल वर्षाका कारण जनकपुर जलमग्न भएको विषयमा ढल निर्माणमा अनियमितताका कारण जनकपुर डुबेको भन्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपानी कार्यालय जनकपुरका प्रमुख राजेश्वर कुशवाहामाथि भौतिक आक्रमण गरेका छन् ।
जनमत पार्टीका कार्यकर्ताले ढल निर्माणमा अनियमितता गरेको भन्दै कुशवाहालाई कुटपिट गरी कालोमोसो दलेर जनकपुर बजार परिक्रमामा समेत गराएका छन् ।
लाठी र मुङग्रा सहितका घरेलु सामाग्री बोकेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई आफ्नो कार्यकक्षबाटै निकालेर कुटपिट गर्दै कालोमोसो दलेर नगर परिक्रमा गराएका हुन् । कुशवाहाले लगाएका कपडा समेत च्यातेर नाङ्गो शरीरमा कालोमोसो र ढलको प्रदुषित फोहोर दलेर बजार घुमाएका छन् ।
कुशवाहामाथि भौतिक आक्रमण र पाशविक व्यवहार प्रदर्शन हुँदा समेत नगरक्षेत्रमा रहेका प्रहरीले भने कुनै हस्तक्षेप नगरी जनमत पार्टीका कार्यकर्तालाई अप्रत्यक्ष रुपमा सहयोग गरेका थिए ।
कुशवाहालाई बजार परिक्रमामा गराउने क्रममा उनीहरूले दुई नम्बरका प्रदेश मुख्यमन्त्री लालबाबु राउतलाई साइकल चोरको आरोप समेत लगाएका थिए । उनीहरूले जनकपुरका मेयर सहितका जनप्रतिनिधिका विरुद्ध पनि चर्का नाराबाजी गरेका थिए ।
कुशवाहामाथि भौतिक आक्रमणको समयमा मौनता साँधेका सुरक्षाकर्मीले भने प्रदर्शन मत्थर भएपछि आक्रमणमा संलग्न रहेको भन्दै जनकपुरको कदम चौकक्षेत्रबाट जनमत पार्टीका कार्यकर्ता विजय यादव र कैलाश मण्डल सहित १३ जनालाई पक्राउ गरेको छ ।