सत्ता भागबन्डाको आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सत्तारुढ दलका शीर्ष नेतासँगको भेटका कारण फेरि विवादमा तानिएका छन् । प्रधानन्यायाधीश राणा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच राणाकै निवासमा वार्ता भएको विषय सार्वजनिक भएपछि उनी फेरि विवादमा तानिएका हुन् ।  

राणाको बालुवाटार स्थित निवासमा नै प्रचण्ड र उनीबीच करिव आधा घण्टा वार्ता भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि राणा थप समस्यामा परेका छन् । यसअघि सत्तारुढ गठबन्धनसँग मन्त्री पद मागेको विषय सार्वजनिक भएपछि उनी समस्यामा परेका थिए । वितगमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा समेत संवैधानिक अङ्गमा नियुक्तिमा भाग खोजेको राणामाथि आरोप लागेको थियो ।

नेकपा नामका विषयमा सर्वोच्चमा परेको मुद्दामा पनि मिलेमतोमा तत्कालीन नेकपा नै विभाजन गरेर एमाले र माओवादी केन्द्र व्युत्याउने आदेश दिएपछि राणामाथि सत्तारुढ दलसँगको मिलेमतोमा फैसला दिने गरेको आरोप लाग्न थालेको थियो ।

बुधवार सत्तारुढ दलका शीर्ष नेता बिच दिनभर भएका वार्तापछि प्रचण्ड र राणाबीच भेटवार्ता भएको सार्वजनिक भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा , प्रचण्ड , माधव नेपाल र बाबुराम भट्टराई बिचको वार्ता पछि भेट भएको बताईएको छ ।

प्रधानमन्त्री कार्यालयमा सत्तारुढ दलका शीर्ष नेताको बैठक अघि प्रचण्ड एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको कोटेश्वर स्थित निवासमा नै पुगेर उनीसँग भेट गरेका थिए । प्रचण्डसँगको भेट अघि माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले नेता नेपालसँग उनकै निवासमा पुगेर भेट गरेका थिए ।  

दिनभर भएका एकपक्षीयबहुपक्षीय छलफल पछि प्रधानन्यायाधीश राणा र प्रचण्ड बिच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सत्तारुढ दल र तिनका नेताका विषयमा परेका मुद्दा अदालतमा बिचाराधिन रहेकै समयमा भएको भेटका कारण राणा थप शंकाको घेरामा तानिएका छन् । अर्लि ईलेक्सनका विषयमा सत्तारुढ दल र विपक्षी दल भित्र बहस सुरु भएकै समयमा भएको भेटप्रति कानुन क्षेत्रका विज्ञ र कानुन व्यवसायीले आपत्ति प्रकट गरेका छन् ।