बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव पेस गर्ने भएका छन् ।

प्रदेशसभाको आज (शुक्रबार) दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका हुन् । 

नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्री हिक्मतकुमार कार्कीले आजको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव टेबल गर्ने बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव टेबल गरेपछि छलफलको प्रक्रियामा जाने छ । 

नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज नै सबै प्रकृया टुङ्ग्याउनुपर्ने बताए ।

आङ्बोले भने,  –‘कुनै पनि बहानामा विश्वासको मत लिने र मतदान पर धकेल्ने प्रयास हामीलाई स्वीकार्य हुने छैन । हामी त्यसो हुन दिने छैनौँ ।’

मुख्यमन्त्री आचार्य भदौ १० गते प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विपक्षी गठबन्धनले भने संविधानको आफू अनुकूल व्याख्या गर्दै सरकारको आयु लम्ब्याएको भन्दै सरकारको आलोचना गदै आएको छ । 

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ दल एमाले विभाजन भएसँगै प्रदेश सरकार अल्पमतमा छ । संसद्मा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग ४१ जनामात्रै सांसद छन् भने विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल वा सरकारलाई समर्थन गर्ने दल विभाजित भए त्यसको ३० दिनभित्र संसदबाट मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नुपर्ने छ । 

प्रदेशसभामा तत्काल कायम रहेको संसद्को बहुमतबाट विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभए मुख्यमन्त्री पदमुक्त हुने व्यवस्था छ ।