बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आर्चायले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको छ ।
मुख्यमन्त्री आचार्यले आज (शुक्रबार) बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । तर मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराए ।
भण्डारीले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजन सम्बन्धी प्रक्रिया सुरु हुने भन्दै बैठक स्थगित गरिएको जानकारी गराए ।
सत्तारूढ एमालेका ४१ सांसद छन् । एक जना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन ।
संसद्मा सामान्य बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । विपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ ।
विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद छन् ।
केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र बाग्मतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ । जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय छ ।