सर्वोच्च अदालतको आदेशमा पुर्नस्थापित भएको संसद पुन स् विघटन गरेर मुलुकलाई निर्वाचनमा धकेल्न खेल सुरु भएको छ । सत्तारुढ प्रमुख दलका नेताहरूले नै सार्वजनिक रुपमा अर्लि ईलेक्सनका विषयमा बोलिरहेको समयमा प्रधानमन्त्री समेतले अर्लि इलेक्सनका विषयमा सत्तारुढ दलमा छलफल हुने बताएपछि मुलुकलाई निर्वाचनमा होम्ने खेल सुरु भएको पुष्टि भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको समयावधि बाँकी रहँदै संविधान मिचेर संसद विघटन गरेको भनेर लामो समय संघर्ष गरेर सत्तामा पुगेका दलभित्रै सुरु भएको अर्लि इलेक्सनको बहसले मुुलुकलाई निर्वाचनमा होम्ने तयारी सुरु भएको बुझ्न सकिन्छ । ओली नेतृत्वको सरकारले दलभित्रको किचलो उत्कर्षमा पुगेपछि दुई पटक प्रतिनिधिसभा भंग गरेर निर्वाचनको घोषणा गरेका थिए ।
प्रतिनिधिसभा विघटनको विषयकै कारण तत्कालीन सत्तारुढ दल तिन तिन टुक्रा समेत बनेको थियो । समय बाँकी रहेकै अवस्थामा निर्वाचनमा मुलुकलाई लगेर अर्बौै रुपैयाँ आर्थिक भार थोपर्न खोजेको र संविधान मिचेको भन्दै सत्तारुढ दलले लामो समय आन्दोलन समेत गरेका थिए ।
आन्दोलनकै क्रममा सर्वोच्चमा हालका सत्तारुढ दलले दायर गरेको मुद्दाको फैसला गदै अदालतले संसद पुनर्स्थापना गरिदिएको थियो । सर्वोच्चकै आदेशमा कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री समेत बनेका थिए । लामो संघर्ष अनि कानुनी सहारामा सत्तामा पुगेका दलभित्रै अर्ली इलेक्सनका विषयमा बहस यतिबेला भइरहेको छ ।