बिर्तामोड / नेकपा एकीकृत समाजवादीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जिवराज आश्रितको हत्यामा राष्ट्रपति विध्या भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको भूमिका शंकास्पद रहेको बताएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेका नेता खतिवडाले श्रीमती मुलुकको राष्ट्रपति र आफूलाई मदन भण्डारीका असली हकदार दावी गर्ने ओली शक्तिशाली प्रधानमन्त्री रहेको समयमा समेत हत्याका विषयमा छानविन नभएको भन्दै नेता खतिवडाले दुवैको भूमिकामाथि आशंका गर्ने ठाउँ रहेको बताएका हुन् ।

पार्टी निकटको पत्रकार सङ्गठनले झापाको बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले रहस्यमय सो हत्या प्रकरणका विषयमा बोल्दै भने –‘भण्डारीकी श्रीमती मुलुकको राष्ट्रपति अनि ओली प्रधानमन्त्री रहेको समयमा किन हत्याको अनुसन्धान गरिएन ? के ले अनि कसले रोकेको थियो सो विषयमा छानविन गर्न ?’

नेता खतिवडाले दासढुङ्गा हत्याकाण्डका नामले चिनिने सो घटनाका विषयमा तत्कालीन समयमा एमालेले बनाएको एक सदस्यीय छानविन समितिमा रहेका ओलीले प्रतिवेदन लुकाएर पार्टीमा पेश नगरी सो विषयलाई थप रहस्यमय बनाएको समेत दावी गरेका छन् । 

उनले भने – ‘ओलीले छानविन समितिको प्रतिवेदन बुझाएनन्, त्यही बेला मैले सोचिसकेको थिए । म हत्यामा संलग्न नै भनेर त भन्दिन तर हत्यामा संलग्नका विषयमा प्रमाण लुकाएको आशंका भने गर्न सकिन्छ ।’

हत्याका विषयमा तयार पारिएको प्रतिवेदन पार्टीमा नबुझाएको र सार्वजनिक नगरिएकामा असन्तुष्टि प्रकट गर्दै नेता खतिवडाले हत्याका विषयमा छानविन गर्ने सूर्वण अवसर एमाले नेतृत्वको शक्तिशाली सरकारले गुमाएको समेत बताएका छन् । उनले मदन भण्डारीको सक्कली उत्तराधिकारी ओली समुह नभएको पनि दावी गरे ।

कम्युनिष्ट सिद्धान्त र आचरण गुमाइसकेको एमालेमा बसेर कम्युनिष्ट भनेर भन्ने अवस्था सकिएकाले आफूहरू नयाँ पार्टी निर्माणमा अघि बढेको बताउँदै खतिवडाले बिर्तामोड स्थित गिरीबन्धु टि स्टेटको जग्गा भूमाफियालाई सुम्पने ओली सरकारको निर्णय बदर गर्ने समेत बताएका छन् ।

अर्वौ रुपैयाँ भ्रष्टाचार गर्ने उद्देश्यले भएको राष्ट्रहित विपरीतको सो काममा मुनाफामा लोभिएर लगानी नगर्न पनि उनले आग्रह गरेका छन् ।

सो विषयमा वर्तमान सरकारले छानविन थालिसकेको जानकारी गराउँदै राज्यको सम्पत्ति कसैको हातमा जान नदिने स्पष्ट समेत पारेका छन् ।

एमाले नेतृत्व र सो पार्टीका नेताहरूमा कम्युनिष्ट आचरण र व्यवहार नरहेको भन्दै नक्कली कम्युनिष्टको पछि नकुद्न उनले आग्रह समेत गरेका छन् ।

आफ्नो दल एमाले जसरी भ्रष्टाचारी, तस्कर, माफिया र दलालको चंगुलमा नफस्ने बताउँदै नेता खतिवडाले नेपाली परिवेश सुहाँउदो कम्युनिष्ट पार्टी स्थापना गरिएको पार्टीमा गोलवन्द हुन कम्युष्टि प्रेमी जनतालाई आग्रह पनि गरेका छन् ।