बिर्तामोड / प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । आज बस्ने प्रदेशसभाको बैठकमा आचार्यले शुक्रबार पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन हुने भएको छ ।
प्रदेश सभा बैठक आज दिउँसो साढे १२ बजे बस्दैछ । शुक्रबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत माग्दै प्रस्ताव प्रदेश सभामा टेबुल गरेका गरेका थिए।
बैठक सुरु हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता र प्रतिपक्षी दलहरूबीच शुक्रबार प्रस्ताव टेबुल गर्ने र आइतबार उक्त प्रस्तावमाथि छलफल गरी प्रदेश सभामा मत विभाजन गर्ने सहमति भएको थियो ।
सोहीअनुसार आज मत विभाजन गर्न लागिएको हो । आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए ।
एमालेका १० सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेर दल विभाजन भएपछि उनी मुख्यमन्त्री भएलगत्तै अल्पमतमा परेका थिए ।
प्रदेश सभाको वर्तमान राजनीतिक समीकरणअनुसार उनले विश्वासको मत नपाउने निश्चित छ । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेश सभामा सरकार टिकाई राख्न मुख्यमन्त्री आचार्यलाई ४७ सांसदको समर्थन चाहिन्छ ।