बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश १ का बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न आएका छन् । 

केही दिनअघि लगातार परेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानग्रस्त क्षेत्र प्रदेश नम्बर १ को स्थलगत अवलोकन गर्न उनी आज पूर्वी नेपालको अवलोकन भ्रमणमा आएका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङसहितको टोली लिएर प्रधानमन्त्री आएका हुन् । 

स्वास्थ्य राज्य मन्त्री खापुङले आफूहरू हेलिकप्टरमार्फत बाढी, पहिरो प्रभावित क्षेत्रको अवलोकनमा हिँडेको बताए । प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले विराटनगर, सुनसरी, इलाम र पाँचथरको स्थलगत अवलोकन गर्नेछ ।

त्यसक्रममा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत उच्च प्रशासनिक तथा सुरक्षा पदाधिकारीहरू मार्फत क्षतिको जानकारी लिने र पीडितहरूलाई सम्बोधन गर्ने कार्यक्रमरहेको छ ।

बाढी पहिरोका कारण पाँचथरमा ३० जना र इलाममा १४ जनाको मृत्यु भएको थियो ।