काठमाडौं / सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीनवटा खेल हुँदैछ ।
लिग अन्तर्गत सातौँ चरण आज दुई खेल दशरथ रङ्गशाला र एक खेल पोखरा रङ्गशालामा हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
थ्री स्टार ७ अङ्कसहित लिगको सातौँ स्थानमा रहँदा समान ७ अङ्क जोड्दै जावलाखेल नबौं स्थानमा छ । खेल दिउँसो १ बजे शुरु हुनेछ ।
उता पोखरामा मनाङ मर्स्याङ्दी क्लब र बिग्रेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । क्लब लाइसेन्स पाएका ४ टोली मध्ये सातौँ चरणसम्म माथिल्लो स्थानको क्लबले एएफसी कपको छनोटमा सहभागी हुन पाउने हुँदा मनाङलाई आज जित्नैपर्ने हुन्छ ।
१३ अङ्कसहित मनाङ दोस्रो स्थानमा रहँदा १२ औं स्थानको बिग्रेडले ५ अङ्क जोडेको छ । पोखरा रङ्गशालामा खेल दिउँसो २ बजे शुरु हुनेछ । सातौँ चरण अन्तर्गत तीन खेल पोखरामा खेल्ने कार्यतालिका छ ।
त्यस्तै दशरथ रङ्गशालामा हुने खेलमा संकटा क्लब र च्यासल युथ आम्ने सामने हुनेछन् । संकटा १२ अङ्क जोड्दै तेस्रो स्थानमा रहँदा च्यासल ४ अङ्कसहित रेलिगेसन जोनमा छ । खेल साँझ पौने पाँच बजे शुरु हुनेछ ।






































