धादिङ । गोसाइँकुण्डको दर्शनका लागि धादिङबाट रसुवातर्फ निस्किएका २७ तीर्थयात्री र बस चालक भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। एउटै क्षेत्रका यति धेरै मानिस एकैपटक सम्पर्कविहीन भएपछि नीलकण्ठ नगरपालिका-९ को सालबोटे र वडा नम्बर १२ को गैरी टोलमा अहिले सन्नाटा छाएको छ। तीर्थयात्राका लागि खुसी हुँदै घरबाट निस्किएका परिवारमा अहिले आफन्तको खबर पर्खाइ र चिन्ता मात्रै छ।
बा ५ ख १२५० नम्बरको बसमा उनीहरू बुधबार बिहान धादिङबेँसीबाट रसुवातर्फ लागेका थिए। बस नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठले चलाएका थिए। पारिवारिक स्रोतका अनुसार बस बिहान करिब ९ः१५ बजे नुवाकोटको बेत्रावती पुगेको जानकारी परिवारले पाएको थियो। त्यसपछि भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सडक, पुल र सञ्चार सम्पर्क विच्छेद भएपछि उनीहरूसँग सम्पर्क हुन सकेन।
सम्पर्क टुट्नुअघि आएको एउटा फोन कल अहिले परिवारका लागि आशा र पीडाको अन्तिम आधार बनेको छ। बिहान करिब साढे ९ बजे यात्रामा रहेका प्रकाश लम्सालले फोन गरेर ‘बाढीले गाडी बगायो, हामी घरको छतमा छौँ’ भनेका थिए। त्यो खबर पाएपछि आफन्तहरूले उनीहरू सुरक्षित स्थानमा पुगेको विश्वास गरेका थिए। तर त्यसको केही समयपछि फोन सम्पर्क पूर्ण रूपमा बन्द भयो। त्यसपछि परिवारले पटक-पटक फोन गरे पनि न फोन लाग्यो, न कुनै सन्देश आयो।
सम्पर्कविहीनमध्ये अधिकांश नीलकण्ठ नगरपालिका–९ र १२ का बासिन्दा हुन्। उनीहरूमध्ये धेरैजसो एउटै टोलका छिमेकी तथा श्रीमान्–श्रीमती छन्। कतिपय परिवारका घरका धेरै सदस्य नै तीर्थयात्रामा गएका छन्। त्यसैले सालबोटे र गैरी टोलका केही घरमा अहिले ढोका खुलेका छैनन्, आँगन सुनसान छन्। गाउँमा मानिसहरू एकअर्काको घरमा जम्मा भएर मोबाइलको घण्टी र कुनै नयाँ खबरको प्रतीक्षा गरिरहेका छन्।
नीलकण्ठ नगरपालिका–१२ का बस चालक छविलाल श्रेष्ठसहित दयाराम लम्साल र सीता लम्साल, ठाकुर लम्साल र शारदा लम्साल तथा प्रकाश लम्साल र इन्दिरा लम्साल सम्पर्कविहीन छन्। नीलकण्ठ–९ का राम लम्साल र जानुका लम्साल, कृष्णप्रसाद खनाल र राधिका खनाल, रामचन्द्र खनाल र भगवती खनाल, शिवहरि लम्साल र गायत्री लम्साल, नारायणप्रसाद लम्साल र सीता लम्साल तथा राजन लम्साल र न्याउरी लम्सालको अवस्थासमेत अज्ञात छ।
त्यस्तै सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल र बिन्दा सिलवाल तथा घनश्याम भट्ट र कल्पना भट्ट पनि सम्पर्कमा छैनन्। नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी तथा तुलसी तिमिल्सिना र ईश्वरी तिमिल्सिना पनि सोही यात्रामा गएका थिए। यसै यात्रामा काठमाडौं हुँदै गएका नीलकण्ठ–९ का गुणनिधि सुवेदी र उनकी श्रीमतीसमेत सम्पर्कविहीन भएको परिवारले जनाएको छ। रामहरि सुवेदी र उनकी श्रीमतीसहित छोराबुहारी गरी एउटै परिवारका चार जना पनि बेपत्ता छन्।
बाढीले सडक र पुल बगाएपछि आफन्तहरू आफैँ प्रभावित क्षेत्रमा पुगेर खोजी गर्न सक्ने अवस्थामा छैनन्। त्यसैले उनीहरूले उपलब्ध सबै स्रोतसाधन प्रयोग गरेर खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरिरहेका छन्। तर अहिलेसम्म उनीहरू कहाँ छन् भन्नेबारे भरपर्दो सूचना नआउँदा परिवारको बेचैनी झनै बढेको छ।
गोसाइँकुण्डको दर्शन गर्ने श्रद्धा बोकेर घरबाट निस्किएका उनीहरू अहिले कहाँ छन् भन्ने कसैलाई थाहा छैन। तीर्थयात्राको उत्साह बोकेर खाली भएका घरहरूमा अहिले रुवाबासी छ। हरेक अपरिचित फोनले केही क्षणका लागि आशा जगाउँछ, तर फेरि उस्तै निराशा छाउँछ। परिवारजनको मनमा भने अन्तिम फोनमा आएको ‘हामी छतमा छौँ’ भन्ने आवाज अझै गुञ्जिरहेको छ।
भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याइरहेका बेला एउटै क्षेत्रका २७ तीर्थयात्री र बस चालकको अवस्था अज्ञात हुनु धादिङका परिवारका लागि अर्को ठूलो पीडा बनेको छ। खोज तथा उद्धारमा सुरक्षाकर्मी परिचालन भए पनि प्रभावित क्षेत्रमा पुगेको क्षति र सम्पर्कविच्छेदका कारण खोजी चुनौतीपूर्ण बनेको छ।
अहिले सालबोटे र गैरी टोलमा एउटै प्रार्थना छ-बाढीले सम्पर्कविहीन बनाएका सबै तीर्थयात्री र बस चालक सकुशल भेटिऊन् र फेरि आफ्नै घरको आँगनमा फर्केर आऊन्। समय बित्दै जाँदा परिवारको चिन्ता बढिरहेको छ, तर अन्तिम फोनले दिएको आशाको सानो किरण भने अझै निभेको छैन।






































