काठमाडौँ / नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जेठ २५ गते अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष अधिकारीलाई निलम्बन गर्न मन्त्रिपरिषद्‌मा दर्ता गराएको थियो । निगमका कर्मचारीहरूले समेत पटकपटक अध्यक्ष अधिकारीको राजीनामा माग्दै आइरहेका थिए।

निगम प्रवेशपछि हालसम्म कुनै पनि उपलब्धिमूलक काम नभएको र उल्टै निगमलाई हानी पुर्‍याएको, न्यारोबडी जहाजको इन्जिन मर्मतमा ढिलाइ गरेको, निजी वायुसेवालाई ट्विनअटर चार्टरका लागि दिएको, टर्कीको एक कम्पनीलाई पिएसएस ठेक्का अपारदर्शी ढंगले सुम्पेको, निगम कर्मचारीमाथि अभद्र व्यवहार गरको लगायतका कारण अध्यक्ष अधिकारीलाई निलम्बन गरिएको मन्त्रालय स्रोतले बताएको छ ।