काठमाडौं— सुन र गहना तथा सामानमा लगाइएको करविरुद्ध सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर सडकमा उत्रिएका छन् । कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायीहरुले राजधानीको न्यूरोडमा जुलुस निकालेका हुन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनमा २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ । त्यसविरुद्ध नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति आन्दोलनमा उत्रिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि समितिले आन्दोलन स्थगित गरेको थियो । तर, सरकारले माग सम्बोधन नगरी बजेट पास गरेकाले पुनः आन्दोलन थाल्नुपरेको व्यवसायीहरुको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको, नेपालमा मन्दीको अवस्था देखिएकाले सुनचाँदीको बजार सुस्त भएको अवस्थामा सरकारले विलासिता कर लगाउन नहुने उनीहरुको जिकिर छ ।