काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरको बजेट निर्माण प्रक्रियामा सबै जनप्रतिनिधिहरूलाई संविधान र कानुनको परिधिभित्र रहेर संयमित र जिम्मेवार ढंगले सहभागी हुन आग्रह गरेकी छन्।

सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै उनले आपसी सहकार्यको आवश्यकता औँल्याउँदै लेखेकी छन्, “डुंगा प्वाल पारेर अरूलाई खसाल्ने र आफू मात्रै बाँच्ने बाटो नछानी, सबै हातेमालो गरेर अघि बढ्नुपर्छ।”

डंगोलले हालसम्म कार्यपालिका, नगरसभा तथा बजेट तर्जुमा समिति लगायतका महत्त्वपूर्ण बैठकहरू नबसेकोप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिन्। उनले असार मसान्तभित्रै बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यता स्मरण गराउँदै समयमा प्रक्रिया अघि नबढे कानुनी जटिलता उत्पन्न हुने चेतावनी पनि दिइन्।

उपप्रमुखका हैसियतले आफू सधैं सहमति, सहकार्य र सहअस्तित्वको भावनामा काम गर्दै आएको उल्लेख गर्दै उनले व्यक्तिगत हितभन्दा नगरवासीको हितलाई प्राथमिकतामा राख्दै कार्य गरिरहेको स्पष्ट पारिन्।