रसुवा— रसुवाको ल्हेन्देखोलामा असार अन्तिम साता आएको भीषण बाढी पहिरोपछि २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको क्षतिको बीमा दाबी परेको छ । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न सात बीमा कम्पनीमा सो बराबरको दाबी परेको हो ।

प्राधिकरणका अनुसार रसुवा बाढीको क्षतिका कुल ६३ वटा बिमा दाबी परेको छ । जसमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीमा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा पाँच करोड २० लाख रुपैयाँ बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा तीन करोड ४१ लाख ५० हजार रुपैयाँ बराबरको सात वटा दाबी परेको छ । 

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीमा एक करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा ७७ लाख रुपैयाँ बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा ७५ लाख ५० हजार रुपैयाँ बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ । 

त्यसैगरी युनाइटेड अजोडमा ६८ लाख रुपैयाँ बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपैयाँ बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको सात वटा बिमा दाबी परेको छ । 

रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा पनि क्षति पुगेको थियो ।