विराटनगर– मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई छुट्टाछुट्टै स्थानमा चेकजाँच तथा विशेष निगरानीको क्रममा नियन्त्रणमा लिइएको हो।
सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को।१ ह ८९८८ नम्बरको अटोमा सवार धरान–६ का एक किशोरसहित ३ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। उक्त घटनामा संलग्न धरान–६ का २४ वर्षीय युवराज लिम्बु र अटो चालक धरान–८ का २८ वर्षीय निलन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, इलाका प्रहरी कार्यालय धरानले धरान–१४ निवासी ५२ वर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन नामक लागू औषधका ५७६ ट्याबलेटसहित उनकै कोठाबाट नियन्त्रणमा लिएको छ।
मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयले रतुवामाई नगरपालिका–६ का २९ वर्षीय मनोज कार्कीलाई ३८० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। साथै वडा प्रहरी कार्यालय विराटनगरले विराटनगर महानगरपालिका–९ का ३३ वर्षीय बिकास कुमार साहलाई ३७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयहरूले जनाएका छन्।