काठमाडौं — तरकारी किन्न आएकी महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय कौशल बस्नेत र २६ वर्षीय मिलन तामाङ रहेका छन्।

घटनास्थल काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी पुल नजिकको तरकारी बजार हो, जहाँ शनिबार तरकारी किनमेल गरिरहेकी ५२ वर्षीया लक्ष्मी घिमिरेको दुई तोलाको सुनको सिक्री लुटिएको थियो। घिमिरे काठमाडौं महानगरपालिका–२६, सामाखुसी टाउन प्लानिङमा बसोबास गर्छिन्।

घटना लगत्तै पीडित घिमिरेले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा खोजी थालेको प्रहरीले माछापोखरीस्थित कुमारीस्थान मन्दिर नजिकबाट लुटपाटमा संलग्न दुबै जनालाई लुटिएको सिक्रीसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार, उनीहरूको साथबाट लुटिएको सुनको सिक्रीसहित एक थान आइफोन र एक थान सामसुङ मोबाइल समेत बरामद गरिएको छ।

पक्राउ परेका दुवैजनाविरुद्ध आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।