काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले चनौली वितरण केन्द्रले साउन १६ गतेका लागि जारी गरेको लोड व्यवस्थापन तालिकाले सिर्जना गरेको अन्यौल र त्यसमा आएका सामाजिक अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।
प्राधिकरणका अनुसार, चनौली ३३/११ के.भी. सबस्टेसनमा न्यू भरतपुर (बसेनी) सबस्टेसनबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक सोड (लोड) बढेपछि समस्या उत्पन्न भएको हो र यसलाई समाधान गर्न काम भइरहेको छ।
चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बसेनी १३२ के.भी. सबस्टेसनदेखि चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको र यो पूरा भएपछि समस्या दीर्घकालीन रूपमा समाधान हुने प्राधिकरणले जनाएको छ।
वर्षात कम परेको र खडेरीको कारण सिँचाइ लोडमा अत्यधिक वृद्धि भएकाले लाइन र ट्रान्सफर्मरहरु अदली बदली गर्नुपर्ने भएकाले लोड व्यवस्थापनका लागि केही समयका लागि लाइन अवरुद्ध गर्ने तालिका मात्र सार्वजनिक गरिएको छ। प्राधिकरणले यसलाई ‘लोडसेडिङ तालिका’ भन्न नमिल्ने र यसलाई भ्रामक र अनुचित ठहराएको छ।
प्राधिकरणले विज्ञप्तिमार्फत भनेको छ, “प्रकाशित समाचारहरुमा समस्या ‘लोडसेडिङ’ होइन भनी स्पष्ट गरिएको छ। तर मुख्य शीर्षकमा लोडसेडिङ उल्लेख हुनु दु:खद र अस्वीकृत छ। लोडसेडिङ नेपालको इतिहासमा एक भयानक घटना हो र यसरी अतिरञ्जना गरेर समाचार सम्प्रेषण गर्नु उचित होइन।”
चनौली वितरण केन्द्रको समस्या केवल प्राविधिक रहेको र यसलाई छिट्टै समाधान गर्न प्राधिकरण अहोरात्र खटिरहेकोले दुई–तीन दिनभित्र नियमित विद्युत आपूर्ति पुनः सुरु हुने बताए।