सुनसरी— जिल्लाको दुई फरक स्थानबाट लागू औषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५ मा सञ्चालित एउटा ट्याटु हाउसमा छापा मारेर सात जनालाई पक्राउ गरेको हो।
योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिबन्धित औषधिको २ हजार ७३ चक्की र ६८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा २७ वर्षीय दिपेन मगर, २१ वर्षीय जगत मगर, ३३ वर्षीय कृष्ण राई, ३२ वर्षीय सुरज कार्की, २४ वर्षीय सोमत राई, १९ वर्षीय असिम राई र ट्याटु हाउस सञ्चालक ३७ वर्षीय योजन राई रहेका छन्।
यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको अर्को प्रहरी टोलीले इनरुवा नगरपालिका–४ स्थित क्षेत्रबाट ४ ग्राम ७० मिलिग्राम ब्राउन सुगरसहित धनकुटा साँगुरीगढी गाउँपालिका–२ का २० वर्षीय करण राईलाई पनि पक्राउ गरेको छ।
पक्राउ परेका सबै विरुद्ध लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।