मोरङ— मोरङको विराटनगर महानगरपालिका–६ स्थित धुधुवा खोलामा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय दीपक पासवानकी छोरी आरुषी पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
शुक्रबार अपराह्न करिब ४ बजे घर नजिकैको धुधुवा खोलामा खेल्ने क्रममा उनी खोलामा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ। पानीमा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
बालिकाको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।