ताप्लेजुङ— ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी स्थानीय २८ वर्षीया भावना विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

शुक्रबार बिहान करिब पौने १० बजे फुङलिङबाट फावाखोला तर्फ जाँदै गरेको मे.१ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकमै अनियन्त्रण भई करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक ३३ वर्षीय सविन बिष्ट भने घाइते अवस्थामा रहेका छन् । उनी हाल झापाको बिर्ता सिटी अस्पतालमा उपचाररत छन्।

प्रहरीका अनुसार दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान जारी छ।