झापा – झापाको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकअन्तर्गत एक अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
गत वर्षको तुलनामा यो वर्ष १२ करोड ९५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व संकलन भएको हो। कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार अघिल्लो आव २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार रुपैयाँ राजस्व उठाइएको थियो।
नवीनतम तथ्याङ्कअनुसार, आव २०८१/८२ मा झापामा १३ हजार ९७० वटा सवारीसाधन दर्ता भएका छन् भने १९ हजार ७७८ जनाले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका छन्।
त्यसैगरी, एक वर्षको अवधिमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरिएका छन्। मोटरसाइकल र स्कुटर दर्ताको संख्याले सबैभन्दा अगाडि स्थान ओगटेको छ। उक्त आवमा चार हजार ९६२ मोटरसाइकल र तीन हजार ४१० स्कुटर दर्ता भएका छन्।
त्यस्तै, दुई हजार ६८८ ई–रिक्सा, ७६७ ई–स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ७७ ट्रक, ३९ टिपर र २३ मिनीबस दर्ता भएका छन्।