सिन्धुली— सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीस्थित एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्। उर्मिला हायुको परिवारका सदस्यहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएपछि सम्पर्कविहीन भएका हुन्।

ती सबै सदस्यहरू सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय गएका वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । उनकाअनुसार सुरक्षा भत्ता बुझेर उनीहरु घर फर्किएका थिए।  त्यसपछि घरमा नदेखिएको र हालसम्म पनि सम्पर्कमा नआएको उनले जानकारी दिए।

“उनीहरू वडा कार्यालयबाट फर्केका थिए, तर अहिले घरमा कोही छैनन्। घरमा सामान्य रूपमा आगलागी भएको देखिन्छ र घरपालुवा जनावरहरू पनि अलपत्र अवस्थामा फेला परेका छन्,” वडाध्यक्ष श्रेष्ठको भनाइ छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको टोलीले बेपत्ता व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ। घटनाको प्रकृति रहस्यमय देखिएकाले अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।