सुनसरी— धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचका क्रममा इटहरीका २० वर्षीय युवराज निरौलाको मृत्यु भएको घटनामा परिवारले प्रहरीमाथि कुटपिटको गम्भीर आरोप लगाएका छन्।

इटहरी उपमहानगरपालिका–२ का निरौला र उदयपुर बेलका–३ निवासी २२ वर्षीय दीपक कटुवाल गत साउन ९ गते साँझ करिब ८ बजे धरानतर्फ जाँदै गर्दा प्रहरी चेकजाँचमा परेका थिए। लागूऔषध सेवनको आशंकामा उनीहरूलाई रोकेको प्रहरीले जनाएको छ।

मृतकका भाइ सन्तोष निरौलाका अनुसार, चेकजाँचका क्रममा सामान्य भनाभनपछि प्रहरीले युवराजमाथि चौकीभित्रै बुट र हातले छाती तथा टाउकोमा कुटपिट गरेको आरोप छ। “झैझगडा भएपछि दाजुलाई प्रहरी चौकीमै निर्घात कुटपिट गरियो,” सन्तोषले भने, “अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो।”

युवराजलाई प्रारम्भमा धरानको घोपा अस्पताल लगिएको थियो। त्यसपछि उनलाई विराट टिचिङ अस्पताल हुँदै विराटनगरस्थित कोशी अस्पताल रिफर गरिएको थियो, जहाँ उपचारको क्रममा उनको ज्यान गएको हो।

तर धरान इलाका प्रहरी कार्यालयका डीएसपी प्रकाश जबेगुले कुटपिटको आरोप अस्वीकार गरेका छन्। उनका अनुसार, “कोही पनि कुटपिट भयो भनेर भन्छ, तर त्यसको प्रमाण पनि हुनुपर्छ। उनीहरू लागूऔषध सेवन गरेको शंका थियो। प्रहरीसँगको सोधपुछ अगावै भागेका थिए। दुई घण्टापछि शनि मन्दिर नजिक बेहोस अवस्थामा फेला परेका थिए।”

परिवारले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्। धरान इलाका प्रहरी कार्यालयले भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।