जनकपुर — धनुषा जिल्लामा एक दर्दनाक घटना भएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक सोमबार राति भएको एक आक्रमणमा १४ वर्षीया बालिकाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
बटेश्वर गाउँपालिका–५ निवासी दिनेश यादवकी छोरी अञ्चली यादवको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन्।
घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा देवी र १५ वर्षीया भतिजी राधा पनि घाइते भएका छन्। आशा देवीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र हातमा चोट पुगेको छ। उनीहरूको अहिले प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
यस घटनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुर निवासी ३५ वर्षीय रामबाबु साहलाई मुख्य आरोपितको रूपमा प्रहरीले चिनाएको छ। घटना पछि उनी फरार भएका छन् र उनको खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।