जुम्ला — जुम्लाका किसानलाई अब काँचो स्याउ टिप्न रोक लगाइएको छ। कृषि विकास कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै आगामी भदौ १५ गतेपछि मात्र स्याउ टिप्न अनुरोध गरेको छ।
कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यदि कसैले तोकिएको मितिभन्दा अगाडि काँचो स्याउ टिपेमा, वा व्यापारीहरूले त्यस्तो स्याउ खरिद गरेमा दुवैलाई कानुनी कारबाही गरिने छ।
"काँचो स्याउ टिप्दा त्यसको स्वाद, गुणस्तर र पौष्टिकता कमजोर हुन्छ," प्रमुख अधिकारीले भने, "यसले दीर्घकालीन रूपमा स्याउको ब्रान्ड र बजार मूल्यमा नकारात्मक असर पुर्याउँछ।" त्यसैले जिल्लाका सबै आठवटा स्थानीय तह र त्यहाँका कृषकलाई सार्वजनिक सूचनामार्फत सचेत गरिएको अधिकारीको भनाइ छ।
कृषि विज्ञहरूको सल्लाह अनुसार, भदौको दोस्रो सातापछि मात्र स्याउ परिपक्व हुन्छ र त्यसपछि टिप्दा स्वादिलो, आकर्षक र बजारयोग्य हुने गर्दछ। विशेषगरी स्याउको रंग ७० प्रतिशतभन्दा बढी रातो भएपछि मात्र बिक्रीका लागि उपयुक्त हुने कृषि विकास कार्यालयको निर्देशन छ।
जुम्लामा करिब १८ हजार घरधुरीमध्ये १६ हजारभन्दा बढीले स्याउखेती गर्ने गरेका छन्। अहिले जिल्लामा चार हजार हेक्टरभन्दा बढी जमिनमा स्याउखेती भइरहेको कार्यालयले जनाएको छ। स्याउ उत्पादनसँगै खेतीको क्षेत्र पनि विस्तार हुँदै गएको छ।
यसै सन्दर्भमा, तातोपानी गाउँपालिकाले पनि स्याउ बगैँचा मालिक र व्यापारीहरूलाई भदौ १५ पछि मात्र स्याउ सङ्कलन र निकासी गर्न आग्रह गरेको छ। गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भदौ १५ भन्दा अघि स्याउ टिप्न र निर्यात नगर्न सबैलाई अनुरोध गरेका छन्।