बैतडी— लगातारको वर्षाका कारण अवरुद्ध भएको सडक खोल्न माग गर्दै पुर्चौंडी नगरपालिका–१० का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
विजयपुरदेखि दोगडाकेदार हुँदै सदरमुकाम जोड्ने मुख्य सडक पहिरोको उच्च जोखिममा परेपछि स्थानीयले पहिरो तत्काल हटाउन माग गर्दै कार्यालयमा तालाबन्दी गरेको वडा सदस्य अम्मर महराले जानकारी दिए।
भङाड बस्तीमा पहिरो खसेपछि छवटा घर जोखिममा परेका छन्। स्थानीयको भनाइ अनुसार, लगातार १३ दिनसम्म पनि पहिरो हटाउने प्रयास नभएकाले बाध्य भएर तालाबन्दी गरिएको हो।
यता, वडाध्यक्ष हिक्मतबहादुर बिष्टले सडक खुलाउने मेसिन बिग्रिएका कारण पहिरो पन्छाउन ढिलाइ भएको बताएका छन्।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        